बीरगंज, २६ साउन ।जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताले तस्करीविरुद्धको कारबाहीलाई तीव्रता दिँदै करिब ४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीका अनुसार, आज २०८२ साल साउन २६ गते दिउँसो करिब २:३० बजे, बीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर सडक खण्डमा नियमित गस्तीका क्रममा उक्त सामान नियन्त्रणमा लिइएको हो।
प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका विभिन्न खाद्यान्न सामग्री सहितको लोडर रिक्सा (ना.३ स. ७२९३) नियन्त्रणमा लिएको हो। बरामद सामानमा १२ बोरा खुल्ला काजु बिस्कुट र १५ बोरा चना रहेको प्रहरीले जनाएको छ। यी सबै सामानको अनुमानित मूल्य करिब रु. ४,०५,०००/- रहेको छ।
बरामद गरिएका सामान र लोडर रिक्सा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न बीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले यस प्रकारका अवैध गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थानीयवासीले तस्करी नियन्त्रणका लागि प्रहरीले देखाएको सक्रियता प्रशंसनीय रहेको बताएका छन्। प्रहरीका अनुसार, सीमावर्ती क्षेत्रबाट भन्सार छली सामान भित्र्याउने कार्य रोकथामका लागि निगरानी र गस्तीलाई अझ प्रभावकारी बनाइएको छ।
