बिरगंज महानगरमा शुद्ध पानी अभियान तीव्र, वडा नं. २ मा युवा नेता नौरोजको पहलमा डिप बोरिङ सम्पन्न

समाचार

बिरगंज, २ भदौ ।
गर्मीको मौसमसँगै पर्सा जिल्लाको शहरी क्षेत्र विशेषगरी बिरगंज महानगरपालिकामा पानीको अभावले जनजीवन कठिन बन्दै गएको बेला महानगरले सुरु गरेको ‘जनतालाई शुद्ध पानी’ योजना अन्तर्गत डिप बोरिङ कार्य तीव्र गतिमा अघि बढाइएको छ।

मेयर राजेशमान सिंहको प्रतिवद्धताअनुसार महानगरका विभिन्न वडामा सञ्चालन भइरहेको यो अभियानले भूमिगत जलस्रोतबाट निरन्तर आपूर्ति हुने सुरक्षित पानी उपलब्ध गराउने लक्ष्य लिएको छ। विगत केही वर्षयता चापाकल तथा इनारमा पानी सुक्दै गएपछि जनताले दैनिक आवश्यकतामा ठूलो समस्या भोग्दै आएका थिए।

यसै क्रममा बिरगंज महानगर वडा नं. २, छपकैयाको आखिरी मन्जिल (कब्रीस्तान) गेट अगाडि र घुसुकपुर टोलमा डिप बोरिङ सम्पन्न भएको छ। सो कार्यमा स्थानीय युवा नेता शेख नौरोजको पहल र सक्रियतापूर्ण भूमिकाले उल्लेखनीय योगदान पुर्‍याएको छ।

युवा नेता नौरोजका अनुसार यो कार्य महानगरको ‘जनतालाई शुद्ध पानी’ योजना अन्तर्गत गरिएको हो, जसलाई क्रमशः अन्य वडामा पनि विस्तार गरिँदैछ।

स्थानीयको प्रतिक्रिया : दीर्घकालीन समाधानप्रति विश्वास

स्थानीयवासीहरूले यसलाई पानी संकट समाधानतर्फको उपयुक्त र प्रभावकारी कदम भन्दै स्वागत गरेका छन्। एक स्थानीयले भने, “पानी हाम्रो दैनिक आवश्यकता हो। यस्तो पहलले हाम्रो दीर्घकालीन समस्या समाधान हुने विश्वास पलाएको छ।”

यसअघि महानगरले घर-घरमा धाराको जडान, ट्यांकरमार्फत आपूर्ति जस्ता अस्थायी उपाय अपनाएको भए पनि, डिप बोरिङलाई स्थायी समाधानका रूपमा लिइएको छ।

मेयर सिंहले जनतासँग गरेको वाचा अनुरूप अघि बढाइएको यो अभियानले शुद्ध र नियमित पानी आपूर्ति गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

जनउत्तरदायी र पवित्र यो योजना सफलतापूर्वक कार्यान्वयन हुँदै गए बिरगंजवासीको दैनिक जीवन सहज र सुरक्षित हुने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *