पर्सा, ३ जेठ — हालका दिनमा व्यापक चर्चा भइरहेको ‘तब्लिगी जमात’ के हो भन्ने जिज्ञासा धेरैको मनमा उत्पन्न भएको छ। यो कुनै नयाँ वा धर्म परिवर्तन गराउने समूह नभई इस्लाम धर्ममा आस्था राख्ने व्यक्तिहरूलाई सही धार्मिक अभ्यास र जीवनशैली सिकाउने उद्देश्यले स्थापित धार्मिक अभियान हो।
मुस्लिम समाजका अगुवा अब्दुल साहिदका अनुसार तब्लिगी जमातको मुख्य उद्देश्य मुस्लिम समुदायभित्र इस्लामको मौलिक शिक्षा—जस्तै ईमान (आस्था), नमाज (प्रार्थना), सत्य बोल्ने आचरण, धूम्रपान र मदिराबाट टाढा रहनु, मानवता र सामाजिक सद्भावजस्ता पक्षमा चेतना फैलाउनु हो।
यो अभियानले अन्धविश्वासको विरोध गर्दै आमा-बुवाको सेवा, दाइजो प्रथाको अन्त्य र सदाचारयुक्त जीवनशैलीलाई प्रोत्साहन दिन्छ।
साहिदका अनुसार सन् १९२६ मा भारतको दिल्ली नजिक मौलाना मोहम्मद इलियासद्वारा सुरु गरिएको यो जमात सुरुमा भारतमै सीमित थियो। सन् १९४१ मा भारतमा आयोजित पहिलो सम्मेलनमा झण्डै २५ हजार मुस्लिम सहभागी भएका थिए।
हालका केही सञ्चारमाध्यमहरूले यस अभियानबारे भ्रम फैलाउने प्रयास गरे पनि तब्लिगी जमात कुनै राजनीतिक एजेन्डा नभएको, पूर्णतः धार्मिक शिक्षामा केन्द्रित एक गैर-राजनीतिक अभियान हो।
अन्य धर्महरूले जस्तै यस अभियानले पनि समाज सुधार, नैतिकता प्रवर्द्धन र आध्यात्मिक उन्नतिमा सकारात्मक योगदान दिइरहेको छ।
