पर्सा, भदौ ७ ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका संयोजक एवं कार्यवाहक निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा शनिबार बसेको बैठकले जिल्लामा बढ्दो झाडा–पखाला तथा हैजा (कोलेरा) नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। हालै वीरगञ्जसहित जिल्लाभर फैलिँदै गएको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको हो।
बैठकले सरोकारवाला निकायहरुसँगको समन्वयमा जनचेतनामूलक घरदैलो अभियान तत्काल शुरु गर्ने निष्कर्ष निकालेको छ। यस अभियानमार्फत स्वास्थ्यकर्मी, स्वयंसेविका, सामाजिक अभियन्ता तथा अन्य समूहहरूलाई सक्रिय परिचालन गरी स्थानीय स्तरमा सचेतना फैलाउने तयारी गरिएको छ।
त्यसैगरी, झाडा–पखालाका बिरामीलाई सबै अस्पतालहरूले पहिलो प्राथमिकतामा राखी समयमै प्रभावकारी उपचार उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ। आवश्यक परे अस्पतालहरूले पर्याप्त सङ्ख्यामा Dedicated Bed छुट्याई थप जनशक्ति परिचालन गर्ने र पूर्ण तयारी अवस्थामा रहनुपर्ने समितिले स्पष्ट निर्देश दिएको छ।
स्वास्थ्य कार्यालय पर्साले उपचारका लागि आवश्यक औषधि र परीक्षण किटको आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी पाएको छ। सरसफाइ प्रवर्द्धनका लागि वीरगञ्ज महानगरपालिकालाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकासहित विभिन्न समूहहरूको प्रभावकारी परिचालन गर्न अनुरोध गरिएको छ।
यस्तै, हैजा नियन्त्रण तथा सचेतनामूलक अभियानलाई अझ सशक्त बनाउन सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संघ–संस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा दातृ निकायहरूसँग मिलेर आवश्यक सामग्री व्यवस्थापन गर्ने निर्णय समेत गरिएको छ।
बैठकले जिल्लाभर सचेतना अभियानलाई सघन रूपमा सञ्चालन गर्ने र संक्रमण फैलिन नदिने तयारीलाई उच्च प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ। साथै, समितिको अर्को बैठक भोलि (भदौ ८ गते) दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालय, पर्सामा बस्ने निर्णय समेत भएको छ।
यस निर्णयसँगै पर्सा जिल्लामा हैजा नियन्त्रण तथा रोकथाम अभियान अझ सशक्त र संगठित हुने अपेक्षा गरिएको छ।
