काठमाडौं,२३ भदौ ।
काठमाडौं र नेपालका विभिन्न स्थानमा आज देखिएका हिंसात्मक घटनाप्रति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले गहिरो दुःख प्रकट गरेका छन्।
संयुक्त प्रेस विज्ञप्तिमा ज्यान गुमाउने दुःखद घटना र कैयौं घाइते भएकोप्रति संवेदनशीलता व्यक्त गर्दै पीडित परिवारजन तथा प्रभावितहरूलाई हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
दूतावासहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रता जस्ता सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन दोहोर्याउँदै सबै पक्षलाई संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्। साथै, यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
यो संयुक्त वक्तव्य अस्ट्रेलियाली दूतावास, फिनल्याण्ड दूतावास, फ्रान्स दूतावास, जापान दूतावास, कोरिया गणतन्त्र दूतावास, बेलायत दूतावास र अमेरिकी दूतावासमार्फत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो।
