पर्सा, भदौ २३ ।
वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट नजिकैको मुस्कान होटलमा भारतीय युवकले होटलमा काम गर्ने युवतीलाई गोली प्रहार गरेका छन्।
मादक पदार्थ सेवन गर्ने क्रममा झारखण्ड, पाकुड जिल्ला, मानपहाडी ग्राम पञ्चायत घर भएका २८ वर्षीय प्रदीप शर्माले बेतिया घर भएकी १८ वर्षीया निशा कुमारी साहनीलाई होटलभित्र बाँया गालामा गोली प्रहार गरी फरार भएका थिए।
घटनापछि सशस्त्र प्रहरी बल नं.१३ गण मुख्यालय पर्साको टोली (प्र.सी.सु.गुल्म बीरगञ्जबाट स.प्र.ना.नि. देवनारायण ठाकुरको कमाण्डमा ९ जना) र प्रहरी चौकी इनर्वाबाट प्रसनि राजकुमार यादवको कमाण्डमा ५ जनाको संयुक्त टोली खटिएको थियो।
उनीहरूलाई खोजतलास गर्ने क्रममा होटलबाट करिब २०० मिटर पूर्व–दक्षिणतर्फ रहेको कर्कलो घारीमा लुकीरहेको अवस्थामा प्रदीप शर्मालाई लोड गरिएको कटुवा पेस्तोलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। सो घटनाको बिस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।घाइते युवतीको उपचार नारायणी अस्पतालमा भइरहेको जनाइएको छ।
