पर्सा ,१ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल, पर्सा अन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सार हे.क्वाटरले मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउन सक्ने खतरनाक केमिकल मिसाइएको भारतीय माछासहित मोटरसाइकल बरामद गरेको छ। बिहीबार वीरगञ्ज महानगरपालिका–१६ नगवा क्षेत्रबाट विशेष सूचनाको आधारमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा उक्त माछा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार करिब १०० केजी प्रतिबन्धित भारतीय माछा बरामद गरिएको हो। बरामद माछामा मानव जीवनलाई नै जोखिममा पार्ने रसायन प्रयोग गरिएको आशंका गरिएको छ। अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको उक्त माछासहित प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। मोटरसाइकलको मूल्य करिब १ लाख रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ भने बरामद गरिएको माछा नष्ट गरिएको छ।
सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सार हे.क्वाटरका डिएसपी विकास अधिकारीको नेतृत्वमा पछिल्लो समय तस्करी नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको देखिएको छ। उनले गुल्मको कमाण्ड सम्हालेको करिब १०० दिनको अवधिमा वीरगञ्जका विभिन्न सीमा नाका तथा संवेदनशील क्षेत्रमा विशेष निगरानी, छापामारी तथा चेक प्वाइन्ट सञ्चालन गरी करिब ३ करोड रुपैयाँ बराबरका भन्सार छलिका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
बरामद गरिएका सामानहरू सम्बन्धित निकाय तथा भन्सार कार्यालयमा बुझाइएको छ भने तस्करीमा संलग्न गिरोहको सञ्जाल ध्वस्त पार्ने अभियानलाई तीव्र बनाइएको जनाइएको छ। खुला सीमाको फाइदा उठाउँदै हुने अवैध कारोबार, लागुऔषध ओसारपसार तथा खाद्य वस्तु तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी निरन्तर सक्रिय रहेको बताइएको छ।
सशस्त्र प्रहरीका अनुसार वीरगञ्जको खुला सीमा क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ। भारतसँग जोडिएको खुला सीमाका कारण यहाँ तस्करी, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण रहँदै आएको छ। त्यसका बाबजुद डिएसपी विकास अधिकारीको नेतृत्वमा सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको छ। केही दिनअघि मात्र तालिमप्राप्त कुकुरको सहयोगमा ठूलो परिमाणमा लागुऔषध हिरोइन बरामद गरिएको घटना पनि यसै अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खतरनाक केमिकलयुक्त माछा नेपाल भित्र्याउने गिरोहविरुद्ध पनि सशस्त्र प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ। नियमित निगरानी तथा सूचना संकलनमार्फत भारतीय माछा तस्करीमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रयास भइरहेको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको निर्देशनमा तस्करी नियन्त्रण, सीमा सुरक्षा सुदृढीकरण तथा शान्ति सुरक्षा कायम गर्ने अभियानलाई प्राथमिकता दिइएको छ। सीमा सुरक्षा गुल्म वीरगञ्जले तस्करी नियन्त्रणसँगै लागुऔषध कारोबार नियन्त्रणमा समेत प्रभावकारी भूमिका निर्वाह गरिरहेको स्थानीयवासीको भनाइ छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध नागरिकलाई समेत सचेत रहन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।
