बारा,२३ भदौ ।
बाराका विभिन्न नाकाबाट सशस्त्र प्रहरीले झण्डै १३ लाख रुपैयाँ बराबरका अवैध सामान (माछा, मदिरा, कपडा र मोटरसाइकल) बरामद गरेको छ।
१. बारा, विश्रामपुर – मदिरा र मोटरसाइकल बरामद
मिति २०८२ भदौ २२ गते बिहान करिब ७:३० बजे विश्रामपुर–४ बलिरामपुर सीमा क्षेत्रमा बीओपी बरैनियाको टोलीले भारततर्फ लैजाँदै गरेको BR 05 BL 2656 नम्बरको भारतीय मोटरसाइकलसहित अन्दाजी रु. १,९६,१७०/- बराबरको सिल प्याक मदिरा र मोटरसाइकल बरामद गरेको छ।
२. फेटा गाउँपालिका–१ त्रिवेणीचोक – कपडा र मोटरसाइकल बरामद
सोही दिन बिहान करिब ९:२० बजे बीओपी बरैनियाको टोलीले भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याइँदै गरेको अन्दाजी रु. १,१९,८८०/- बराबरको रेडिमेड कपडा र मोटरसाइकलसहित बरामद गरेको छ।
३. बारा, सिम्रौनगढ–७ कवलपुर – माछा र मोटरसाइकल बरामद
भदौ २२ गते राति करिब ९ बजे बारा जिल्ला सिम्रौनगढ नगरपालिका–७ कवलपुर सीमा क्षेत्रमा बीओपी गोलागंजबाट स.प्र.नि. ईश्वर कार्कीको कमाण्डमा खटिएको ९ जनाको गस्ती टोलीले ६ वटा मोटरसाइकल प्रयोग गरी लुकाइ–छिपाइ ल्याइँदै गरेको अन्दाजी ५५० केजी खान अयोग्य माछा (११ कार्टुन) बरामद गरेको छ। उक्त माछाको मूल्य रु. १,६५,०००/- र मोटरसाइकलहरूको मूल्य रु. ८,५०,०००/- गरी जम्मा रु. १०,१५,०००/- बराबर हुने जनाएको छ।
बरामद गरिएको माछा नेपाल प्रहरी, पशु क्वारेन्टिन कार्यालय र स्थानीय पत्रकारहरूको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको छ भने मोटरसाइकलहरू भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, बारा गणले जनाएको छ।
