पर्साका एसपी पाठकको एकै दिनमा ठूलो एक्सन : शान्ति सुरक्षा कायम गर्न ४९ जना पक्राउ

समाचार

पर्सा, १५ असोज।
जिल्ला प्रहरी कार्यालय पर्साका नव नियुक्त प्रहरी प्रमुख एसपी सुदीप राज पाठकले जिल्लामा शान्ति सुरक्षा चुस्त–दुरुस्त राख्ने उद्देश्यले एकै दिनमा ठूलो कारबाही गरेका छन्। उनका अनुसार पर्सा प्रहरीले स्विप अपरेसनमार्फत विभिन्न स्थानबाट ४९ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूलाई प्रारम्भिक रूपमा संकास्पद गतिविधि, अवैध क्रियाकलाप तथा अपराधमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखी स्क्रिनिङ चेकिङ भइरहेको प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार अपराधमा संलग्न नभएका व्यक्ति भोलिसम्म रिहा गरिनेछ भने, संलग्न प्रमाणित भएकाहरूमाथि कानुन बमोजिमको कारबाही अगाडि बढाइनेछ।

एसपी पाठकले जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र आम नागरिकको जनधनको सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, वडा प्रहरी कार्यालय बिर्ता, पोखरिया लगायत ग्रामीण भेगका विभिन्न युनिटहरूले समेत अपरेसनमा सहभागिता जनाएका थिए।

“पर्सा अपराध नियन्त्रणका हिसाबले संवेदनशील जिल्ला भएकाले शान्ति सुरक्षा सुनिश्चित गर्न प्रहरी उच्च सतर्कताका साथ खटिएको छ,” एसपी पाठकले भने। उनले अपराध र अवैध क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कठोर कानुनी कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

यस कारबाहीलाई आम नागरिकहरूले स्वागत गर्दै जिल्लामा सुरक्षा संयन्त्र सक्रिय र प्रभावकारी बन्दै गएको बताएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *