काठमाडौँ, असोज १८ ।
गए रातिदेखि काठमाडौँ उपत्यकामा अविरल वर्षा भइरहेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् जनतालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मेयर शाहका अनुसार महानगरका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएका छन्। विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ मनमति खोलाले बाटो भासिनुका साथै घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको जानकारी उनले दिएका छन्। अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको उनले उल्लेख गरेका छन्।
यस्तै, डुबानका कारण समस्या परे नजिकैको सुरक्षित विद्यालयमा प्रभावित बस्तीलाई सार्ने तयारी गरिएको महानगरले जनाएको छ। साथै जोखिमयुक्त बस्तीका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
समस्या परे तुरुन्त सम्पर्क गर्न सकिने महानगरले उपलब्ध गराएका हेल्पलाइन नम्बरहरू यसप्रकार छन् :
📞 १६६००१०५५११
📞 ०१–५९०१७६४
📞 ०१–५९०१७६३ (महानगर प्रहरी)
“सुरक्षित रहौं, सतर्क रहौं,” मेयर शाहले भनेका छन्।
