काठमाडौं, असोज १८ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८, १९ र २० गते तीन दिनका लागि लामो दूरीका साथै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कोशीदेखि लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम तथा केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै प्राधिकरणले यस्तो निर्णय गरेको हो।
भारी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता जोखिम बढ्ने भएकाले सबै यातायात व्यवसायी तथा सरोकारवालालाई अत्यावश्यक बाहेक सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरिएको छ। यसैगरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई आवतजावत पूर्ण रूपमा रोक्न र निरन्तर निगरानी गर्न निर्देशन दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिए अनुसार प्राधिकरणले यात्रुहरूलाई असुविधाप्रति क्षमायाचना गर्दै अत्यावश्यकबाहेक यात्रा नगरी सुरक्षित तरिकाले घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक सूचना रेडियो, टेलिभिजन, अनलाइन संचारमाध्यम र सामाजिक सञ्जालमार्फत प्राप्त गर्न आग्रह गरेको छ।
