पर्सा, १८असोज ।
जिल्ला प्रशासन कार्यालय पर्साले असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान भएकाले सतर्क रहन सबैमा आग्रह गरेको छ।
प्रशासनले जारी गरेको सूचनामा ठूलो वर्षाका कारण डुबान, बाढी र पहिरोजस्ता विपद्जन्य घटनाबाट धनजनको क्षति हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्ला सुरक्षा समितिको बैठकले गरेका निर्णयअनुसार यातायात, स्थानीय तह, सुरक्षा निकाय र आम नागरिकले देहायका सावधानी अपनाउन अनुरोध गरेका छन् :
- अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घरमै बस्न र अनावश्यक रुपमा यात्रा नगर्नु।
- रात्रीकालीन सवारी साधन (बस, जीप, कार, मोटरसाइकल, मालवाहक) सञ्चालन नगर्नु तथा टिकट काट्न नदिनु।
- दिउँसो मात्र सार्वजनिक यातायात सञ्चालन गरी यात्रुको विवरण ट्राफिक प्रहरीलाई उपलब्ध गराउनु।
- विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई आवश्यक सामग्री र उपकरण तयारी अवस्थामा राख्न स्थानीय तहलाई निर्देशन।
- नदी, खोला तथा डुबान जोखिम क्षेत्रका वासिन्दालाई विशेष सावधानी अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह।
- सबै सरकारी, गैरसरकारी निकाय, राजनीतिक दल, सञ्चारकर्मी र आम नागरिकलाई समन्वयात्मक ढंगले राहत तथा उद्दारमा खटिन आह्वान।
प्रशासनले विपद्को अवस्थामा नजिकको प्रहरी इकाई, स्थानीय तह वा जिल्ला प्रहरी कार्यालयसँग सम्पर्क गर्न र तत्काल सहायता आवश्यक परेमा नेपाल प्रहरीको कन्ट्रोल नं. १०० मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
