काठमाडौं, २ बैशाख ।
नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरे पनि जिम्मेवारी नलिएको भन्दै आलोचना गरेको छ।
एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराजाले आफैंले तोकेको कमाण्डरको नेतृत्वमा अप्रिय घटना घटेको बताउँदै, उनले जिम्मेवारी लिनुपर्ने आवश्यकता रहेको बताए। उनले पूर्वराजाको “नेपाली जनतामा जागरण आएको” भन्ने अभिव्यक्तिप्रति असहमति जनाउँदै भने, “सरकारी कार्यालयमा आक्रमण गर्नु, सर्वसाधारणको घर र पसल लुटपाट गर्नु जागरण होइन।”
ज्ञवालीले पूर्वराजाले चयन गरेका कमाण्डरहरू उपयुक्त नभएको टिप्पणी गर्दै थपे, “लोकतान्त्रिक गणतन्त्र अब कुनै पनि अर्थमा फर्कन सक्ने अवस्था छैन, यो गति अघि बढिसकेको छ।”
सचिवालयको भर्खरै सम्पन्न बैठकमा एमालेले उक्त विषयमा कडा प्रतिक्रिया दिएको हो।
