काठमाडौं, असोज १९ । जल तथा मौसम विज्ञान विभाग, बबरमहल काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावका कारण असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागहरूमा मनसुन सक्रिय भई विशेषगरी मधेश, बागमती र कोशी प्रदेशका अधिकांश स्थानहरूमा भीषण वर्षा भएको छ।
विभागका अनुसार सो अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मि.मी. वर्षा रेकर्ड गरिएको छ। असोज १९ गते बिहान ८:४५ बजेसम्म २९५ वटा वर्षा मापन केन्द्रहरूमध्ये १८६ केन्द्रमा वर्षा मापन भएको छ। तीमध्ये १०५ केन्द्रमा ५० मि.मी. भन्दा बढी, ६८ केन्द्रमा १०० मि.मी. भन्दा बढी, २१ केन्द्रमा २०० मि.मी. भन्दा बढी र ५ केन्द्रमा ३०० मि.मी. भन्दा बढी वर्षा मापन गरिएको विभागले जनाएको छ।
३०० मि.मी. भन्दा बढी वर्षा हुने स्थानहरूमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मि.मी.) र कन्याम टी–स्टेट केन्द्र (३१४.२ मि.मी.), पर्सा जिल्लाको मुडली केन्द्र (३२८.६ मि.मी.), रौतहट जिल्लाको महेशपुर (३२८.० मि.मी.) र गौर केन्द्र (३१५.० मि.मी.) रहेका छन्।
अविरल वर्षाका कारण असोज १८ गते अपराह्नदेखि बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूको जलसतह सतर्कता तह नाघेको र हाल घट्दो क्रममा रहेको विभागले जनाएको छ। सोही क्रममा सप्तकोशी नदीले खतरा तह पार गरेको र तमोर, सुनकोशी, अरुण लगायतका सहायक नदीहरूमा समेत जलसतह घट्दो क्रममा रहेको उल्लेख गरिएको छ।
त्यस्तै, कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङ लगायतका चुरे र महाभारत क्षेत्रका नदीहरूले समेत खतरा तह पार गरी अहिले स्थिर या घट्दो अवस्थामा रहेको बताइएको छ। कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रहेकाले असोज २० गते मध्यान्हसम्म नदी तटीय तथा डुबान क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागका अनुसार वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मौसममा सुधार आएको छ, तर मनसुनको औपचारिक बहिर्गमन अझै नभएकाले विभागले निरन्तर अनुगमन जारी राखेको जनाएको छ।
साथै, विभागले वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्री सेवा (११५५) र SMS सेवामार्फत प्रसारित हुने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
