मधेश विश्वविद्यालयका विद्यार्थीलाई पर्सा प्रहरीद्वारा E-Governance र Digital Transformation विषयक अनुशिक्षण

समाचार

वीरगंज, २३ असोज ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले मधेश विश्वविद्यालयमा अध्ययनरत कानून तथा जनप्रशासन संकायका विद्यार्थीहरूसँग E-GovernanceDigital Transformation विषयमा विशेष अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका छन् ।

असोज २२ गते बिहान करिब ११:३० बजेदेखि सुरु भएको उक्त कार्यक्रम मधेश विश्वविद्यालयमा अध्ययनरत दोस्रो सेमेष्टरका छात्रा–छात्राहरूको लागि आयोजना गरिएको थियो । कार्यक्रममा एसपी पाठकले हालको प्रविधिमुखी युगमा सुशासन र पारदर्शिता कायम गर्न डिजिटल शासन प्रणालीको महत्वबारे विस्तृत रूपमा जानकारी गराएका थिए ।

उनले प्रहरी संगठनमा डिजिटल रूपान्तरणका माध्यमबाट सेवा प्रवाह कसरी सहज, पारदर्शी र जनमुखी बन्दै गएको छ भन्ने विषयमा उदाहरणसहित प्रष्ट पारेका थिए । साथै, अपराध अनुसन्धान, दर्ता प्रणाली, सूचना प्रवाह र नागरिक सेवामा प्रविधिको प्रयोगले ल्याएका सकारात्मक परिवर्तनहरूबारे पनि उनले चर्चा गरेका थिए ।

अनुशिक्षण सत्रपछि सहभागी विद्यार्थीहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए, जसको उत्तर प्रहरी उपरीक्षक पाठकले अन्तरक्रियात्मक शैलीमा दिएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्तो व्यवहारिक ज्ञानले आफूहरूलाई भविष्यमा सार्वजनिक प्रशासन र कानूनी क्षेत्रको अभ्यासमा ठोस मार्गनिर्देशन प्रदान गर्ने बताएका छन् ।

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको विभिन्न शाखा—जस्तै अपराध अनुसन्धान शाखा, ट्राफिक शाखा, साइबर शाखा र नागरिक सहायता कक्ष—को अवलोकन गराइयो । यस क्रममा विद्यार्थीहरूले प्रहरीको दैनिक कार्यप्रणाली, अभिलेख व्यवस्थापन र प्रविधि प्रयोगका विधिहरू नजिकबाट अध्ययन गर्ने अवसर पाए ।

उक्त अनुशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र भविष्यमा पनि यस्ता ज्ञानमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *