जनकपुरधाम ,२७ असोज । नेपाल सरकार गृह मन्त्रालयको निर्णयअनुसार मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा हालै सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) गोबिन्द थपलियालाई प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन्।
स्वागत कार्यक्रमपछि डिआइजी थपलियाले भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा उहाँले वर्तमान शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै राजनीतिक परिवेशमा पर्न सक्ने प्रभावहरूको विश्लेषण गरी प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो। साथै, प्रहरी कर्मचारीहरूको समुचित व्यवस्थापन र परिचालनमा ध्यान दिनुपर्ने, नागरिकको आवश्यकता पहिचान गरी प्रहरी सेवामा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो।
उहाँले नागरिकको सेवामा कुनै पनि किसिमका बिचौलियाको प्रभाव पर्न नदिने गरी काम कारवाही गर्न, विभिन्न धार्मिक समुदायबीच हुन सक्ने विवादहरूको समयमै उचित समाधान खोज्न तथा सीमा क्षेत्रमा हुने अबैध निकासी–पैठारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न निर्देशन दिनुभयो।
त्यसैगरी, डिआइजी थपलियाले प्रहरी संगठनको आन्तरिक शुद्धीकरण, सेवा प्रवाहमा सुधार र जनविश्वास अभिवृद्धिका लागि सबै तहका प्रहरी अधिकारी र जवानहरूलाई जिम्मेवार र पेशागत ढंगले कार्य गर्न आह्वान गर्नुभएको छ।
