बीरगञ्ज, असोज २७ ।
पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक युवकलाई ४ लाख ३४ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा सञ्चालन भइरहेको अवैध मुद्रा तथा हुण्डी कारोबार नियन्त्रण अभियान अन्तर्गत उक्त सफलता प्राप्त भएको हो।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा असोज २६ गते दिउँसो करिब १२:०० बजे वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित नबिल बैंक अगाडिको सडक खण्डमा संदेहास्पद रूपमा हिँडिरहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएर सोधपुछ तथा खानतलासी गर्दा उक्त युवकको लगाएको सेतो जिन्स पाइन्टको खल्तीभित्र नेपाली रुपैयाँ ५०० दरका ८६८ थान नोट (जम्मा नगद रु. ४ लाख ३४ हजार) फेला परेको प्रहरीले जनाएको छ। उक्त रकमको श्रोत नखुलेपछि प्रहरीले रकम बरामद गरी उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्ति पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१६ बस्ने १९ वर्षका किशन यादव रहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
उनका अनुसार, यादवमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी सम्बन्धी कारोबारको कसूरमा मुद्दा दर्ता गरिएको छ। यस सम्बन्धमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एसपी पाठकले अवैध मुद्रा कारोबार, हुण्डी र आर्थिक अपराध नियन्त्रणका लागि पर्सा प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको बताउँदै नागरिकलाई यस प्रकारका गैरकानूनी कारोबारमा संलग्न नहुन आग्रह गरेका छन्।
पर्सा प्रहरीले हालसम्म विभिन्न ठाउँमा निगरानी र सूचनाको आधारमा अवैध हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ। प्रहरीका अनुसार, यस किसिमका गतिविधिले देशको आर्थिक प्रणालीमा प्रत्यक्ष असर पर्ने भएकाले नियन्त्रणमा जोड दिइएको छ।
