बारा, २ कात्तिक ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डुङग्रे पुल नजिक आज मध्यराति भएको भीषण मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
कात्तिक २ गते राति करिब १२:१५ बजे पथलैया बाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डुङग्रे पुलको रेलिङमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि एलएस न्युरो अस्पताल, परवानिपुर, बारामा पठाइएको थियो । तर, उपचारको क्रममा दुवैजनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक मध्ये मोटरसाइकल चालकको पहिचान खुलिसकेको छ । उनी जितपुर सिमरा उपमहानगरपालिका–१५ नयाँबस्ती टोल निवासी सुरेश लामाका छोरा २० वर्षीय साजन तमाङ रहेको प्रहरीले पुष्टि गरेको छ । सोही मोटरसाइकलमा पछाडि सवार हाल नाम, थर र वतन नखुलेको करिब २७/२८ वर्षीय पुरुषको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी पथलैयाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले जानकारी दिएका छन् ।
