पेस्तोल लुटपाट तथा बिक्री वितरणमा संलग्न ५ जना पक्राउ

समाचार

काठमाडौँ, १४ कार्तिक ।
सुरक्षाकर्मीको हातहतियार लुटपाट गरी बिक्री वितरणमा संलग्न पाँच जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२।०५।२४ गतेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हातबाट लुटिएको पेस्तोल र गोली गड्डा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सो घटनामा संलग्न पाँच जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट CF98-9 पेस्तोल थान १, म्याग्जिन थान १पेस्तोलमा प्रयोग हुने गोली थान १५ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (प्र.उ.) पवनकुमार भट्टराईले जानकारी दिए।

पक्राउ परेकाहरूको विवरण
१. कृष्ण गुरुङ (२१ वर्ष) — धादिङ, धुनिवेशी गाउँपालिका घर, हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा कार्यरत। (पेस्तोल लुटपाटमा संलग्न)
२. राजन देउला (२५ वर्ष) — काठमाडौँ महानगरपालिका–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने। (हतियार खरिद तथा बिक्री वितरणमा संलग्न)
३. अकबर खान (२४ वर्ष) — भारत, मोतिहारी सितामणी घर, हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने। (हतियार खरिद तथा बिक्री वितरणमा संलग्न)
४. सुमिन शाक्य (२६ वर्ष) — काठमाडौँ महानगरपालिका–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने। (हतियार खरिद तथा बिक्री वितरणमा संलग्न)
५. प्रभात मल्ल (३८ वर्ष) — घर बानेश्वर, हाल काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने। (हतियार खरिद गर्ने)

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *