हेटौंडा, कार्तिक २७ ।
आफूलाई सूर्य नेपाल प्रा.लि.का कर्मचारी भएको दाबी गर्दै विभिन्न व्यापारीलाई सामान खरिद गर्ने बहानामा ठगी गर्ने तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, वीरगञ्ज–१९ का ४० वर्षीय रामराउत कुर्मी, र वीरगञ्ज–३२ टेटा घर भई हाल मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० टिसनरोडमा डेरा गरी बस्ने ४० वर्षीय नितेश कुमार केशरी रहेका छन्।
यी व्यक्तिहरूले विभिन्न मितिमा आफुलाई सूर्य नेपाल प्रा.लि. का कर्मचारी भएको बताउँदै हेटौंडा आसपासका व्यवसायीहरूलाई अनलाइनबाट सामानको अर्डर दिंदै, रकम भुक्तानी गरेको देखाउने नक्कली बैंक भौचर ह्वाट्सएपमार्फत पठाएका थिए।
यसरी विश्वास दिलाई व्यापारीहरूबाट करिब रु. १७ लाख ८७ हजार बराबरका सामानहरू वीरगञ्जतर्फ पठाई ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
तीनै जना पक्राउ परेकालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
