बाराको सिमरा घटनामा दुई जना प्रहरी नियन्त्रणमा

समाचार

 बारा,४ मंसिर ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा Zen Z समूह र युवा संघ (एमाले निकट) का कार्यकर्ताबीच २०८२ मंसिर ३ गते उत्पन्न भएको विवादका घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोतका अनुसार उनीहरू दुवै जना नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष हुन्।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार पक्राउ पर्नेमा

  • जीतपुरसिमरा–२ का ४० वर्षीय धनबहादुर श्रेष्ठ, र
  • जीतपुरसिमरा–६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी
    रहेका छन्।

घटनासम्बन्धी किटानी जाहेरी दर्ता भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए। उनका अनुसार प्रारम्भिक बयान लिएर थप अनुसन्धान अघि बढाइएको छ।

यसअघि, इलाका प्रहरी कार्यालय सिमरामा सम्राट उपाध्यायले किटानी जाहेरी दर्ता गराउँदै आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको दाबी गरेका थिए। बुधवारको झडपपछि घाइते पक्षका समर्थकहरूले कारबाहीको माग गर्दै बिहीबार बिहानदेखि सडक विरोध जारी राखेका छन्।

सिमरा चोक र वरपरका क्षेत्रमा सम्भावित तनाव नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, बाराद्वारा मंसिर ४ गते जारी गरिएको प्रेश विज्ञप्तिमा दुई जनालाई किटानी नाम अनुसार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *