इन्टरपोल रेड नोटिसधारी फरार प्रतिवादी युएईबाट पक्राउ, सोमबार नेपाल ल्याइयो

समाचार

काठमाडौं ,१४ पुस। ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ (एक्सटर्सन) तथा संगठित अपराधसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी जावेद अनवर दीन युएईबाट पक्राउ परेका छन्। बागलुङ नगरपालिका–२, श्रीनगर स्थायी घर भएका दीनलाई एनसिबी अबुधाबी (युएई) को समन्वयमा पक्राउ गरी सोमबार नेपाल फिर्ता ल्याइएको हो।

उक्त मुद्दामा संलग्न रही फरार रहेका दीनको अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०७७ भदौ ८ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो।

नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार पक्राउ परेका दीनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा बुझाइएको छ। यस सफल कारबाहीले अन्तर्राष्ट्रिय अपराध नियन्त्रण तथा फरार अभियुक्तलाई न्यायको दायरामा ल्याउने नेपाल प्रहरीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *