इद्-उल-फित्रको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीको शुभकामना

समाचार

काठमाडौँ, चैत,७ ।प्रधानमन्त्री सुशीला कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद्-उल-फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले जारी गर्नुभएको शुभकामना सन्देशमा रमजान महिनाको एक महिनासम्मको व्रत (रोजा) सम्पन्न भएसँगै मनाइने इद्-उल-फित्रले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने उल्लेख गर्नुभएको छ। उहाँले रमजानलाई सत्कर्म, संयम र आत्मशुद्धिको महिनाका रूपमा व्याख्या गर्दै यस अवधिले समाजमा सकारात्मक मूल्यहरूको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

सन्देशमा उहाँले यस्ता मानवीय मूल्यहरूले समाजमा सहअस्तित्व, आपसी सम्मान र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै, इद्-उल-फित्रले आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री कार्कीले यस पावन पर्वले सम्पूर्ण नेपालीबीच पारस्परिक सम्मान, सहकार्य र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्‍याओस् भन्ने कामना व्यक्त गर्नुभएको छ।

उहाँले सन्देशको अन्त्यमा सम्पूर्ण मुस्लिम समुदायलाई “इद् मुबारक” समेत व्यक्त गर्नुभएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *