काठमाडौं, १८ चैत । ललितपुरमा जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मिति २०८२ चैत १५ गते ललितपुर महानगरपालिका–लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडि सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि दुर्व्यवहार गर्ने गोदावरी नगरपालिका–१० टाखेल बस्ने वर्ष ३० का आरबी शर्मा उर्फ राम शरण शर्मा बजगाईंलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार घटनापछि उनलाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा सार्वजनिक स्थलमै जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
यसैबीच, उक्त घटनामा पीडित भएका जेष्ठ नागरिकसँग गृहमन्त्री सुधन गुरुङले भेटघाट गरेका छन्। मंगलबार ललितपुरस्थित पीडितकै निवासमा पुगेर गृहमन्त्री गुरुङले घटनाबारे जानकारी लिँदै स्वास्थ्य अवस्था तथा सुरक्षा अवस्थाबारे चासो व्यक्त गरेका थिए।
भेटका क्रममा गृहमन्त्री गुरुङले जेष्ठ नागरिकमाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार अस्वीकार्य रहेको उल्लेख गर्दै दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए।
घटनापछि स्थानीयस्तरमा समेत आक्रोश देखिएको छ भने जेष्ठ नागरिकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने आवाज उठिरहेको छ। प्रहरीले यस्ता घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।
