पर्सा, २० चैत ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा सञ्चालन गरिएको “भिड नियन्त्रण विशेष तालिम (घुम्ती प्रशिक्षण)” सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८२ चैत १५ गतेदेखि सुरु भएको उक्त ६ कार्यदिनको विशेष अनुशिक्षण कार्यक्रममा प्रहरी वरिष्ठ हवल्दार (प्र.व.ह.) २ जना, प्रहरी हवल्दार (प्र.ह.) २ जना, प्रहरी सहायक हवल्दार (प्र.स.ह.) ३ जना तथा प्रहरी जवान (प्र.ज.) २८ जना गरी जम्मा ३५ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
तालिम समापनको अवसरमा मिति २०८२ चैत २० गते जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
उक्त तालिममार्फत भीड व्यवस्थापन, शान्ति सुरक्षा कायम राख्ने उपाय, सम्भावित जोखिम न्यूनीकरण तथा आपतकालीन अवस्थामा प्रभावकारी रूपमा परिचालन हुने सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यस प्रकारका तालिमले प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि हुनुका साथै भीड व्यवस्थापनका क्रममा हुन सक्ने अप्रिय घटनालाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
