वीरगञ्ज, २१ चैत ।
जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ।
प्रहरीले जारी गरेको सूचनामा सामाजिक सञ्जालमार्फत कुनै पनि धर्म, समुदाय वा समूहलाई लक्षित गरी उत्तेजक अभिव्यक्ति, अफवाह तथा भ्रामक सामग्री पोस्ट, शेयर वा प्रसारण नगर्न अनुरोध गरिएको छ। यस्ता गतिविधिले समाजमा द्वन्द्व सिर्जना गर्न सक्ने भन्दै प्रहरीले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको हो।
प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा गैरजिम्मेवार अभिव्यक्ति बढ्दै गएको गुनासो आएपछि यस्तो चेतावनी जारी गरिएको हो। आपसी सद्भाव खल्बल्याउने तथा सार्वजनिक शान्ति भंग गर्ने खालका कुनै पनि गतिविधि सह्य नहुने पर्सा प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले स्पष्ट पारेका छन् ।
यस्तो कार्यमा संलग्न भएको पाइएमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने प्रहरीको चेतावनी छ। साथै, शान्ति सुरक्षा कायम राख्न र सामाजिक सद्भाव जोगाउन सबै पक्षको सहयोग आवश्यक रहेको पर्सा प्रहरी प्रवक्ता बस्नेतले बताएका छन् ।
