दशगजा क्षेत्रमा अवैध मदिरा पसल टहराहरू हटाइयो, नेपाल–भारत संयुक्त कारबाही

समाचार

बिरगंज, ४ वैशाख — सशस्त्र प्रहरी बल, नेपाल पर्साले दशगजा सीमा क्षेत्र नजिकै अवैध रूपमा सञ्चालन भइरहेका खुल्ला मदिरा पसल तथा टहराहरू हटाएको छ।

वैशाख ३ गते जिल्ला पर्साको बिन्दबासिनी गाउँपालिका–४ प्रसौनीभाठ्ठा अमरपट्टीस्थित दशगजा क्षेत्रमा गरिएको संयुक्त अनुगमनका क्रममा उक्त कारबाही गरिएको हो।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएको टोली, प्रहरी चौकी अमरपट्टीको टोली तथा भारतको पूर्वी चम्पारण जिल्लाअन्तर्गत सिसुवा ग्राम पञ्चायत–१ सिसुवास्थित सशस्त्र सीमा बल (SSB) ४७ बटालियन ‘सी’ कम्पनी धुपाटोलाको संयुक्त टोलीले सीमा अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि कारबाही गरेको हो।

संयुक्त टोलीले नेपालतर्फ अवैध रूपमा सञ्चालनमा रहेका ५ वटा टहरा, ३ वटा मदिरा पसल र १ वटा भट्टी हटाएको छ भने भारततर्फका ३ वटा टहरासमेत हटाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न तथा शान्ति–सुरक्षा सुदृढ पार्न दुवै देशका सुरक्षा निकायबीच समन्वय गरी कारबाही गरिएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

सुरक्षा निकायले सीमा क्षेत्रमा हुने अतिक्रमण, अवैध व्यापार तथा मदिरा बिक्री वितरण नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *