तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय : वीरगञ्जबाट लाखौं मूल्यका सामान बरामद

समाचार

वीरगञ्ज,५ बैशाख  । सशस्त्र प्रहरी बल, नेपाल पर्साले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको छ। सोही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको निर्देशनमा खटिएको टोलीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी शम्भु कटुवालको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ नगवा क्षेत्रबाट लाखौं रुपैयाँ बराबरको किराना सामान, स्याउ तथा केरा बरामद गरेको हो। भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको उक्त सामान गोप्य सूचनाको आधारमा गरिएको निगरानीका क्रममा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी कडा पारिएको छ भने नियमित गस्तीसमेत बढाइएको छ।

एसपी क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको तस्करीविरुद्धको अभियानका कारण अवैध आयात तथा चोरी पैठारीमा संलग्न गिरोहहरू दबाबमा परेको सुरक्षा निकायले जनाएको छ। सशस्त्र प्रहरीले यस्ता गतिविधिविरुद्ध अझ सशक्त रूपमा कारबाही अगाडि बढाउने र दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

स्थानीयवासीले पनि सशस्त्र प्रहरीको सक्रियताप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सीमामा हुने अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *