बारा, १४ बैशाख।
जिल्ला प्रशासन कार्यालय बारा र सुरक्षा निकायको समन्वय तथा कुशल नेतृत्वमा बाराको हरपुरस्थित ईज्तिमागाहमा आयोजित विशाल धार्मिक सभा (ईज्तिमा) शान्तिपूर्ण, व्यवस्थित र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। लाखौं मुस्लिम धर्मावलम्बीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले धार्मिक सहिष्णुता, एकता र आपसी सद्भावको सशक्त सन्देश प्रवाह गरेको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,सशस्त्र प्रहरी बल बाराका एसपी बिशाल सिल्वाल तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवरको संयुक्त प्रयास र नेतृत्वमा कार्यक्रमलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराइएको हो। प्रशासनले सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सम्भावित जोखिम न्यूनीकरण, भीड व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी रणनीति अपनाएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार कार्यक्रममा अवाञ्छित तत्वहरूको अवैध घुसपैठ रोक्नेदेखि लिएर समग्र शान्ति सुरक्षा व्यवस्थापनसम्मका कार्यहरू मुस्लिम अगुवा, आयोजक तथा व्यवस्थापक पक्षसँग निरन्तर समन्वय गरी सफल बनाइएको हो। “सुरक्षा निकाय, स्थानीय तह र आयोजकबीचको सहकार्यका कारण यति ठूलो धार्मिक सभा पनि अनुशासित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्भव भयो,” उनले बताए।
शनिबारदेखि औपचारिक रूपमा सुरु भएको उक्त ईज्तिमा कार्यक्रम सोमबार बिहान करिब १० बजे विशेष दुआ (प्रार्थना)सँगै समापन गरिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा विश्वभर तथा नेपालमा अमन–चयन, सहिष्णुता र समृद्धिको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो।
देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुकहरूबाट आएका हजारौंदेखि लाखौंसम्म मुस्लिम धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले सामूहिक नमाज अदा गर्नुका साथै धार्मिक प्रवचन, इबादत तथा आध्यात्मिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रम अवधिभर कुनै पनि अप्रिय घटना नघटेको र सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको सक्रिय समन्वय र व्यवस्थापनका कारण विशाल भीडका बाबजुद कार्यक्रम सुव्यवस्थित रूपमा सञ्चालन भएको हो।
आयोजक पक्षका अनुसार यस प्रकारको धार्मिक सभाले समाजमा आपसी भाइचारा, सहअस्तित्व र धार्मिक सहिष्णुताको भावना मजबुत बनाउने विश्वास लिइएको छ। हरपुरमा सम्पन्न यस ईज्तिमाले सामाजिक एकता र शान्तिको सन्देश फैलाउँदै सफल उदाहरण प्रस्तुत गरेको आयोजकहरूको भनाइ छ।
