पर्सा, १४ वैशाख । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३ वैशाख १३ गते दिउँसो करिब ३:०० बजे वीरगञ्ज महानगरपालिका–२४ रामगढवा क्षेत्रबाट लुकिछिपी बस्दै आएका ३० वर्षीय विकास शर्मालाई नियन्त्रणमा लिएको हो। उनी भारतको बिहार राज्य, पश्चिम चम्पारण (वेतीया) अन्तर्गत बगाहा थाना क्षेत्रका बासिन्दा हुन्।
प्रहरीका अनुसार Zen-Z आन्दोलनका क्रममा काठमाडौंस्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका शर्मा अपहरण तथा कर्तव्य ज्यान जस्ता गम्भीर अपराधमा दोषी ठहर भई २५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने अभियुक्त हुन्। उनी २०८२ भदौ २४ गते कारागारबाट फरार भएका थिए।
पक्राउ परेका शर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
पक्राउ विवरण:
नाम: विकास शर्मा
उमेर: ३० वर्ष
ठेगाना: बगाहा थाना, वेतीया, बिहार (भारत)
मुद्दा: अपहरण तथा कर्तव्य ज्यान
कैद सजाय: २५ वर्ष
कैदी आईडी नं.: ९९१३८०४
फरार मिति: २०८२ भदौ २४
पक्राउ मिति: २०८३ वैशाख १३
फरार भएको कारागार: केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौं
