रसीद आलम
बिरगंज, ३० साउन —
मधेस प्रदेशमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयको नेतृत्व सम्हालेका वाहिनिपति डिआईजी कृष्ण ढकालको कमान्डिङ्गमा १२० दिनभित्रै तस्करी र लागू औषधको संजाल ध्वस्त पारिएको छ। गत २०८२ साल वैशाख २२ गतेदेखि श्रावण २२ गतेसम्मको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले विभिन्न जिल्लाबाट करिब ९ करोड ६६ लाख ३९ हजार १७३ रुपैयाँ बराबरको अवैध सामान र सवारी साधन बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको तथ्यांक सार्वजनिक गरिएको हो।
सशस्त्र प्रहरीले दिएको विवरणअनुसार पर्सा जिल्लामा वैशाख महिनामा मात्र २८ लाख ८४ हजार ५३६ रुपैयाँ बराबरका सामान बरामद गरिएको थियो। जेष्ठमा यो रकम २ करोड ४१ लाख ३० हजार ६६८ पुगेको छ। त्यस्तै असारमा १ करोड ९९ लाख ६२ हजार १५० र साउनमा १ करोड ७२ लाख ४१ हजार ९३१ बराबरका अवैध सामान बरामद गरिएको छ।
बारा जिल्लाबाट वैशाख महिनामा ६ लाख ३६ हजार ८२०, जेष्ठमा ३० लाख ६९ हजार २२०, असारमा ६७ लाख ५४ हजार ३३३ र साउनमा ७७ लाख ७८ हजार ४११ बराबरका सामान बरामद गरिएको छ। रौतहट जिल्लामा भने वैशाखमा ८ लाख ७ हजार ७०७, जेष्ठमा ३८ लाख ३९ हजार ८७०, असारमा ४८ लाख ४५ हजार १९५ र साउनमा ४५ लाख ८८ हजार ३३२ रुपैयाँ बराबरका सामान बरामद गरिएको तथ्यांकले देखाएको छ।
यस अवधिमा सशस्त्र प्रहरीले लागू औषध तर्फ पनि उल्लेखनीय सफलता हात पारेको छ। सप्तरीमा मात्र ४०० किलोग्राम गाजा बरामद गरिएको छ भने अन्य जिल्लासहित कुल ५३७.५ किलोग्राम गाजा नियन्त्रणमा लिइएको छ। साथै नरफिन एम्पुल ६५० पिस, डाईजोपाम ६५० पिस, फेनार्गन ५०० पिस र ट्रामाडोल ८१ हजार ६४० पिस बरामद गरी आवश्यक कारबाही अगाडि बढाइएको छ।
डिआईजी कृष्ण ढकालले तस्करी नियन्त्रणमा कुनै प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै सीमाको सुरक्षा चुस्त बनाउन, आम सर्वसाधारणसँग सभ्य व्यवहार गर्न र अपराध नियन्त्रणमा कठोरतापूर्वक कदम चाल्न मधेस प्रदेशका सम्पूर्ण युनिटलाई स्पष्ट निर्देशन दिएका छन्। उनले अवैध क्रियाकलाप विरुद्धको यो सफल अभियानलाई निरन्तरता दिने र सीमावर्ती क्षेत्रमा सुरक्षालाई अझ सुदृढ गर्ने योजनासमेत बताएका छन्।
यस सफलतासँगै मधेस प्रदेशमा तस्करी र लागू औषधको जालो नियन्त्रणमा उल्लेखनीय प्रगति भएको सशस्त्र प्रहरीले दाबी गरेको छ, जसले सीमावर्ती क्षेत्रको सुरक्षा र कानूनी शासनलाई थप मजबुत बनाएको छ।
