लागुऔषध नियन्त्रणमा मधेश प्रहरीको कडा कदम: “सेवनकर्ता खोजी एवं सुधार महा-अभियान २०८३” सुरु

समाचार

जनकपुरधाम ,१९ बैशाख । मधेश प्रदेश प्रहरी कार्यालयले लागुऔषध दुव्र्यसन नियन्त्रण र सुधारका लागि “लागु औषध सेवनकर्ता खोजी एवं सुधार महा-अभियान २०८३” सञ्चालनमा ल्याएको छ। प्रदेशभर फैलिएको यस अभियान अन्तर्गत आठै जिल्लाका प्रहरी प्रमुख तथा मातहतका इकाइहरूलाई ब्रिफिङ गर्दै प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले व्यापक रणनीति सार्वजनिक गरेका हुन्।

अभियान अनुसार सीमावर्ती नाकाहरूमा आधुनिक ड्रग टेस्टिङ चेकपोइन्ट स्थापना गरिनेछ, जहाँ ड्रग टेस्ट किट प्रयोग गरी व्यक्तिले लागुऔषध सेवन गरेको वा नगरेको परीक्षण गरिनेछ। सीमामा आवतजावत गर्ने विशेषगरी युवायुवतीहरूको तथ्यांक संकलन गरी निगरानी बढाइने योजना रहेको प्रहरीले जनाएको छ।

यसका साथै, लागुऔषध सेवनकर्तालाई सीमामै एक घण्टे सचेतनामूलक अडियो–भिजुअल प्रशिक्षण प्रदान गरिनेछ। उनीहरूको विस्तृत अभिलेख तयार गरी GPS लोकेसन ट्र्याकिङ समेत गरिने विशेष व्यवस्था गरिएको छ।
प्रहरीका अनुसार, सेवनकर्तालाई मात्र नियन्त्रण होइन, सुधार र पुनर्स्थापनामा पनि जोड दिइनेछ। स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरी खेलकुद, मनोरञ्जन, सीपमूलक तालिम तथा रोजगारीमूलक कार्यक्रम सञ्चालन गरिनेछ, जसले युवाहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वास गरिएको छ।
अभियानले लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न गिरोह, औषधि पसल तथा भण्डारण स्थलहरूलाई समेत लक्षित गरेको छ। यस्ता गतिविधिमा संलग्न मुख्य कारोबारीको पहिचान गरी कडा कानुनी कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।

प्रदेश प्रहरी कार्यालयले यो अभियान प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न सरकारी–गैरसरकारी संघसंस्थासँग सहकार्य गर्दै प्रभावकारी रूपमा सञ्चालन भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *