वीरगञ्ज,२२ बैशाख । घण्टाघर नजिकै रहेको बीपी उद्यान पार्कमा हरियाली प्रवर्द्धन तथा वातावरणलाई थप आकर्षक र सुन्दर बनाउन विभिन्न किसिमका फूलबिरुवा रोप्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ।
वीरगञ्ज महानगरपालिकाका अनुसार पार्कको सौन्दर्य अभिवृद्धिसँगै स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। पछिल्लो समय पार्क क्षेत्रमा व्यवस्थित रूपमा बिरुवा रोपाइँ, सरसफाइ तथा हरियाली विस्तारका कामहरूलाई प्राथमिकता दिइएको छ।
महानगरले यस पहलबाट पार्कको दृश्यात्मक सौन्दर्य बढ्नुका साथै स्थानीय बासिन्दालाई स्वच्छ र हरियालीयुक्त वातावरण उपलब्ध हुने विश्वास व्यक्त गरेको छ। साथै, वातावरण संरक्षणमा पनि यस अभियानले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले समेत महानगरको यस कदमलाई सकारात्मक रूपमा लिँदै पार्क संरक्षण र सरसफाइमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
