बिरगञ्ज, २७ वैशाख । पर्सा प्रहरीले वीरगञ्ज क्षेत्रमा सञ्चालन भइरहेका क्यासिनोहरूमा विशेष निगरानी बढाउँदै कडा अपरेसन सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा गरिएको संयुक्त प्रहरी कारबाहीमा King Casino लगायत चार वटा क्यासिनोमा छापामारी गरी जुवातास खेलिरहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार मिति २०८३ वैशाख २६ गते राती करिब ११ः४० बजेको समयमा वीरगञ्जस्थित विभिन्न क्यासिनोहरूमा अनाधिकृत तथा संकास्पद व्यक्तिहरू प्रवेश गरी जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले एकसाथ छापामारी गरेको हो।
प्रहरी टोलीले King Casino, Fortune City Gaming Clubs Casino तथा Mahjong Casino लगायतका स्थानमा पुगेपछि केही व्यक्तिहरू जुवातास खेलिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारत विहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय संदिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव तथा ३६ वर्षीय ओमप्रकाश यादव रहेका छन्। त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
छापामारीका क्रममा प्रहरीले जुवाखेलमा प्रयोग भइरहेको विभिन्न सामग्री समेत बरामद गरेको छ। प्रहरीका अनुसार रु. ५०० दरका coin, नेपाली रुपैयाँ ५५५, भारतीय रुपैयाँ १२०० तथा दुई वटा मोबाइल फोन बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्। उनले वीरगञ्ज क्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीको निगरानी अझ कडा बनाइएको समेत बताए।
हाल पर्सा प्रहरीले लागुऔषध, अवैध जुवा, चोरी तस्करी तथा सीमा क्षेत्रका आपराधिक गतिविधिविरुद्ध निरन्तर विशेष अभियान सञ्चालन गर्दै आएको छ। पछिल्लो समय वीरगञ्जका होटल, क्यासिनो तथा मनोरञ्जन केन्द्रहरूमा समेत प्रहरीले निगरानी बढाएको देखिएको छ।
