वीरगञ्ज, २८ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले निजी विद्यालय र पसलबीचको मिलेमतोमा भइरहेको पाठ्यपुस्तक तथा विद्यालय पोशाक खरिद सम्बन्धी एकाधिकार र आर्थिक शोषणप्रति कडा चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारी गर्दै कतिपय निजी विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई निश्चित पसलबाट मात्र पाठ्यपुस्तक र विद्यालय पोशाक खरिद गर्न बाध्य बनाएको, उपभोक्ताले पाउनुपर्ने छुटसमेत नदिई विद्यालय प्रशासन र व्यवसायीबीच मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिइरहेको भन्ने गुनासो प्राप्त भएको जनाएको छ।
प्रशासनले यस्तो कार्य प्रचलित कानून विपरीत रहेको स्पष्ट गर्दै सिन्डिकेट, एकाधिकार तथा आर्थिक शोषणजन्य गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको छ। अन्यथा सम्बन्धित विद्यालय र पसल दुवैमाथि प्रचलित ऐन तथा कानून बमोजिम हदैसम्मको कडा कानुनी कारवाही गरिने चेतावनी दिइएको छ।
सूचनामा अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई यस्ता गतिविधिबारे प्रमाण, बिल वा अन्य ठोस आधारसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न आग्रह गरिएको छ। प्रशासनले उजुरीका आधारमा आवश्यक अनुसन्धान गरी दोषीमाथि कानुनी कारवाही अघि बढाइने जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा द्वारा जारी सूचनामा उपभोक्ताको अधिकार संरक्षण तथा शैक्षिक क्षेत्रमा भइरहेको आर्थिक विकृति नियन्त्रण गर्न प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
