मोरङ, २८ बैशाख । कोशी प्रदेश को मोरङ जिल्ला अन्तर्गत रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा तथा वीओपी डोरियाबाट खटिएको संयुक्त टोलीले बैशाख २७ गते राति विशेष चेकजाँचका क्रममा उक्त रकम बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि टोलीले निगरानी बढाएको थियो। प्रहरी टोलीलाई देख्नासाथ रकम बोकेको व्यक्ति भारतीय रुपैयाँ छाडेर फरार भएको बताइएको छ। बरामद रकम नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
घटनामा संलग्न फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, उक्त रकमको स्रोत, प्रयोग तथा सम्भावित अवैध कारोबार सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
