वीरगन्ज,२० पुस ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकार जियालाल साहलाई धम्की दिने व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न माग गरेको छ। शुक्रबार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै कारण साहलाई सामाजिक सञ्जालमार्फत मानसिक तनाव र दबाब दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौनीमा आयोजित कार्यक्रममा ‘विवादित पृष्ठभूमि’का व्यक्तिलाई पार्टी प्रवेश गराएको विषयमा सिधा कुरा अनलाइन पोर्टलमा प्रकाशित समाचारलाई लिएर साहविरुद्ध धम्कीपूर्ण स्टाटस लेखिएको र फोटोसमेत सार्वजनिक गरिएको उल्लेख छ।
महासंघले समाचारप्रति चित्त नबुझे कानूनी उपचारका विधि र प्रक्रिया अपनाउन सकिने तर सामाजिक सञ्जालमार्फत धम्की दिनु प्रेस स्वतन्त्रता र सञ्चारकर्मीप्रतिको असहिष्णु व्यवहार भएको ठहर गरेको छ।
पत्रकार महासंघले धम्की दिने र मानमर्दन गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बद्ध निकायसँग माग गरेको छ। साथै, यस्ता गतिविधिले सञ्चार माध्यम र पत्रकारहरूको अधिकारमाथि खतरा उत्पन्न गरेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
