सशस्त्र प्रहरीद्वारा पर्सामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

बिदेश राजनीति समाचार

पर्सा,२० पुस । पकाहामैनपुर गाउँपालिका-३ स्थित श्री राम चरित्र भगवत माध्यमिक विद्यालयमा सशस्त्र प्रहरी बल, नेपालद्वारा एकदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सीमावासीसँगको सम्बन्ध सुमधुर बनाउन र उनीहरूलाई प्रत्यक्ष लाभान्वित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले यो शिविर सञ्चालन गरेको हो।

सशस्त्र प्रहरीले बिगत केही वर्ष देखि सीमावासी सँग आफ्नो सम्बन्ध सुमधुर बनाउन विभिन्न कार्यक्रमहरु मार्फत उनीहरु लाभान्वित हुने खालका कार्यको देशव्यापि रुपमा अभियान नै चलाएको छ ।
Border Area Development Program (BADP) र Quick Impact Project (QIP) जस्ता कार्यक्रमहरु मार्फत सीमावासीलाई विभिन्न किसिमका सेवा प्रदान गर्ने उद्देश्यले आजको नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको नेतृत्वमा भएको शिविरमा पकाहामैनपुर गाउँपालिका, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, रोहित फाउण्डेशन, क्वेस्ट फर्मास्युटिकल्स, र वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सहकार्य रहेको थियो।

कार्यक्रममा पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किशोर लम्साल, प्रभु अस्पतालका अध्यक्ष डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, वीरगञ्ज सामुदायिक आँखा केन्द्रका मेडिकल डाइरेक्टर महेश सिंह धामीलगायतको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले स्वास्थ्य शिविरलाई सीमावासीसँगको सम्बन्ध प्रगाढ बनाउन प्रभावकारी बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले गाउँबासीलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम आयोजना गरेकोमा सशस्त्र प्रहरीलाई धन्यवाद ज्ञापन गरे।

शिविरमा जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ, हाडजोर्नी तथा आँखा सम्बन्धी विशेषज्ञ सेवाहरू प्रदान गरिएका थिए। शिविरबाट २७० जना महिला र २६० जना पुरुष गरी जम्मा ५३० जनाले स्वास्थ्य सेवा लिएको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *