वीरगञ्ज, २९ बैशाख ।
लागु औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान अन्तर्गत पर्सा प्रहरीले वीरगञ्जको शंकराचार्य गेट क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गर्दै खैरो हिरोइनसहित ४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ बैशाख २८ गते साँझ करिब ५:२० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट चेक प्वाइन्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारी साधनहरूलाई शंकास्पद आधारमा जाँच गर्ने क्रममा लागू औषध बरामद गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको शरीर तथा सवारी साधनमा लुकाइछिपाइ राखिएको अवस्थामा खैरो हिरोइनजस्तो देखिने पदार्थ तथा चरेस फेला पारेको जनाएको छ। पक्राउ पर्नेहरूमा वर्ष २६ का पैयाल अन्सारी, वर्ष ३४ का संजय साह तथा वर्ष २१ का विशाल यादव रहेका छन्।
प्रहरीका अनुसार पैयाल अन्सारी र संजय साहबाट ०.१० मिलिग्राम खैरो हिरोइनसहित ४/४ ग्राम चरेस बरामद गरिएको छ भने संजय साहबाट थप ३ ग्राम ४२ मिलिग्राम खैरो हिरोइन फेला परेको जनाएको छ। त्यस्तै विशाल यादवको साथबाट ०.४३ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
पर्सा प्रहरीले सीमावर्ती क्षेत्रमा लागू औषध नियन्त्रण अभियानलाई थप कडाइ गर्दै शंकास्पद गतिविधिमाथि निरन्तर निगरानी बढाइएको जनाएको छ।
