रसीद आलम
बारा, २९ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले सञ्चालन गरिरहेको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत विश्रामपुर गाउँपालिका–५ स्थित लिची बगान क्षेत्रबाट गाँजा सेवन गर्दै गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय लागूऔषध दुर्व्यसन तथा कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै बारा प्रहरीले जिल्लाभर निगरानी र चेकजाँचलाई कडा बनाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवरको निर्देशनमा सञ्चालन भइरहेको अभियान अन्तर्गत प्रहरी चौकी मुशहर्वाबाट प्रहरी नायव निरीक्षक नारायण प्रसाद लुइटेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष निगरानी तथा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा विश्रामपुर क्षेत्रका वर्ष २० का प्रदीप पासवान, वर्ष २२ का कारन पासवान साह, वर्ष २० का रञ्जन पासवान लगायत ४ जना रहेका छन्। उनीहरू लिची बगान क्षेत्रमा समूह बनाएर गाँजा सेवन गरिरहेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। साथै, उनीहरूसँग सम्बन्धित अन्य व्यक्तिहरू तथा लागूऔषध आपूर्ति गर्ने संजालको खोजी कार्य समेत तीव्र रूपमा भइरहेको बताइएको छ।
एसपी नरेन्द्र कुवरले लागूऔषध सेवन र कारोबार दुबै समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै बारा प्रहरी यसविरुद्ध कठोर रूपमा प्रस्तुत भएको बताए। उनले लागूऔषधले विशेषगरी युवा पुस्ताको भविष्य अन्धकारतर्फ धकेलिरहेको र यसले घरपरिवारदेखि समाजसम्म नकारात्मक असर पारिरहेको उल्लेख गरे।
“लागूऔषध केवल एक व्यक्तिको समस्या होइन, यसले पुरै परिवार र समाजलाई बर्बादीतर्फ लैजान्छ,” एसपी कुवरले भने, “सेवनकर्ता र कारोबारीको पहिचान गरी कानुनी दायरामा ल्याउने तथा यसको जालो ध्वस्त पार्ने रणनीतिमा नेपाल प्रहरी सक्रिय छ।”
प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित निगरानी, गोप्य सूचनाको आधारमा अपरेशन तथा सचेतनामूलक अभियानलाई समेत सँगसँगै अघि बढाएको जनाएको छ। बारा प्रहरीले अभिभावक, स्थानीय समुदाय तथा सरोकारवालालाई लागूऔषध नियन्त्रण अभियानमा सहयोग गर्न आग्रह गर्दै युवाहरूलाई दुर्व्यसनबाट जोगाउन सामूहिक पहल आवश्यक रहेको बताएको छ।
