२१ वर्षपछि सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

समाचार

वीरगञ्ज, २९ वैशाख ।
पर्सामा २१ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको विशेष अभियान अन्तर्गत फरार अभियुक्त पक्राउ गर्ने क्रममा उक्त सफलता हासिल भएको हो।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ पंचरुखी निवासी ४७ वर्षीय दिनेश प्रसाद यादव रहेका छन्। उनलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३ वैशाख २८ गते बिहान करिब ८ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार मिति २०६२ मंसिर १५ गते वीरगञ्ज महानगरपालिका–१४ चिनीमिल आवास क्षेत्र अगाडि सडकखण्डमा ना.३ प ६३६२ नम्बरको मोटरसाइकल चलाइरहेका दिनेश प्रसाद यादवले पैदलयात्री बारा जितपुरसिमरा उपमहानगरपालिका–२० निवासी ६५ वर्षीय कालिका सिंह राजपुतलाई ठक्कर दिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका राजपुतलाई तत्काल उपचारका लागि बी.एण्ड.बी. अस्पताल ललितपुर पठाइएको थियो।

उपचारकै क्रममा मिति २०६२ मंसिर २६ गते साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि चालक यादव मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए।

घटनापछि लामो समयदेखि फरार रहेका यादवलाई प्रहरीले २१ वर्षपछि पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका यादवविरुद्ध सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *