चितवन ,३ जेठ ।
इलाका प्रहरी कार्यालय रत्ननगर र रहमानिया जामे मस्जिद समिति को संयुक्त आयोजनामा चितवनको रत्ननगरमा लागुऔषध विरुद्ध बृहत् सचेतना तथा जागरण कार्यक्रम सम्पन्न भएको छ। ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत शुक्रबार मस्जिद परिसरमै आयोजित कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
मिति २०८३ जेठ १ गते टाँडीस्थित रहमानिया जामे मस्जिदको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रहरीले लागुऔषध दुर्व्यसनका कारण समाज, परिवार र युवापुस्तामा पर्ने असरबारे विस्तृत जानकारी दिएको थियो। कार्यक्रममा प्रहरी निरीक्षक सोभन बिक्रम राणा र प्रहरी वरिष्ठ नायव निरीक्षक युवराज पाँडेले लागुऔषध सम्बन्धी कानुनी व्यवस्था, दुर्व्यसनका लक्षण, प्रयोग हुने पदार्थहरू तथा यसको सामाजिक प्रभावबारे सरल र प्रभावकारी ढंगले प्रस्तुति दिनुभएको थियो।
प्रहरीले चितवन जिल्ला देशको मध्यभागमा रहेकाले विभिन्न स्थानबाट मानिसहरूको आवतजावत बढी हुने र त्यसले लागुऔषध कारोबार तथा प्रयोगको जोखिम बढाएको उल्लेख गर्दै समुदायको सक्रिय सहभागिता बिना यस्तो समस्या नियन्त्रण गर्न कठिन हुने स्पष्ट पारेको थियो।
कार्यक्रमको सबैभन्दा भावुक र प्रभावकारी पक्ष सामूहिक प्रतिबद्धता बन्यो। कार्यक्रममा उपस्थित सबै सहभागीहरूले एकै स्वरमा, “म लागुपदार्थ सेवन गर्दिनँ, सकेसम्म कसैलाई सेवन गर्न दिन्नँ र यसलाई रोक्न पूर्ण प्रयास गर्नेछु” भन्दै लागुऔषध विरुद्धको अभियानमा हातेमालो गर्ने प्रण गरेका थिए।
मस्जिद समितिका अध्यक्ष अब्दुल वहाब ले कार्यक्रम समयसापेक्ष र अत्यन्त प्रभावकारी भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायलाई कानुनी तथा सामाजिक चेतना दिने मात्र नभई युवापुस्तालाई दुर्व्यसनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
डिएसपी सुवास भट्ट ले लागुऔषध नियन्त्रणमा प्रहरीको “शून्य सहनशीलता” नीति रहेको स्पष्ट पार्दै सचेतना, रोकथाम र आवश्यक परे मात्र कानुनी कारबाहीको रणनीति अपनाइएको बताउनुभयो। उहाँका अनुसार समाजमा अपराध न्यूनीकरण गर्न समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइनेछ।
डीएसपी भट्टको नेतृत्वमा पछिल्लो समय रत्ननगर क्षेत्रमा मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन (लापसे) विरुद्ध कडाइका साथ चेकजाँच तथा जनचेतनामूलक अभियान सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ।
