सिरहा, ३ जेठ — सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाले जेठ २ गते राति विशेष सूचनाको आधारमा सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिन सफल भएको हो।
सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको विभिन्न प्रकारका सामानहरू ट्रकमा लोड गरिएको अवस्थामा फेला परेको थियो। उक्त अभियानमा संलग्न टोलीले ट्रकसहित दुई जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको सामान तथा ट्रकको कुल मूल्य करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबर रहेको बताइएको छ। नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छली तथा अवैध ओसारपसार बढ्दै गएपछि सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ। प्रहरीका अनुसार राजस्व चुहावट रोक्न तथा अवैध गतिविधि नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिने बताएका छन् ।
