महोत्तरी, २१ वैशाख । सशस्त्र प्रहरी बल (एपीएफ) ले तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको स्याउसहित सवारी साधन नियन्त्रणमा लिएको छ। मधेस प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमावर्ती क्षेत्रबाट करिब ६ हजार ९ सय केजी स्याउसहित तीन वटा पिकअप गाडी बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ महोत्तरी गण तथा मातहत संयुक्त सुरक्षा टोलीले विशेष सूचनाको आधारमा बैशाख १९ गते उक्त कारबाही गरेको जनाइएको छ। भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइँदै गरेको स्याउ लोड गरिएका पिकअप गाडीहरूलाई सीमावर्ती क्षेत्रमा निगरानी बढाउँदै नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको स्याउ तथा सवारी साधन आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाएको जनाइएको छ। सो घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।
मधेस प्रदेशमा पछिल्लो समय सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा उल्लेखनीय सक्रियता देखाउँदै आएको छ। विशेष गरी सीमा नाकाहरूमा कडाइ गर्दै खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामानदेखि फलफूलसम्मका अवैध ओसारपसारमा निगरानी बढाइएको छ।
डिआईजी कृष्ण ढकालले तस्करी तथा भन्सार छलि हुने गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्न कुनै कसर बाँकी नराखिने बताउँदै सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता अझ कडा पारिएको जानकारी दिएका छन्। उनले स्थानीयवासीलाई समेत अवैध गतिविधिबारे सूचना दिन आग्रह गर्दै सहकार्यमा मात्रै तस्करी नियन्त्रण सम्भव हुने उल्लेख गरे।
सशस्त्र प्रहरीको यस कदमले सीमा क्षेत्रमा सक्रिय तस्करी संजाललाई ठूलो झट्का लागेको स्थानीयवासीको भनाइ छ। पछिल्ला दिनहरूमा निरन्तर भइरहेको यस्ता कारबाहीले अवैध कारोबारमा संलग्न समूहहरू त्रसित बनेका छन् भने राज्यको राजस्व संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
