सगरमाथा आरोहण सफल पार्दै संगठनको गौरव बढाएका शेर्पा विशेष बढुवासहित दर्ज्यानी चिन्हद्वारा सम्मानित

समाचार

काठमाडौं, जेठ ११। नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा विशेष बढुवासहित दर्ज्यानी चिन्हद्वारा सम्मानित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको अध्यक्षतामा जेठ ६ गते बसेको नीति निर्माण समिति (PCC) बैठकको निर्णयअनुसार शेर्पालाई प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा गरिएको हो।

सगरमाथा शिखरको सफल आरोहण गरी संगठनको गौरव बढाउन सफल प्रहरी नायव निरीक्षक शेर्पालाई नेपाल प्रहरी प्रमुख थापाले एक समारोहका बीच दर्ज्यानी चिन्ह लगाइदिएका थिए। समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक थापाले शेर्पाको अदम्य साहस र समर्पणको उच्च प्रशंसा गर्दै पदोन्नतिसँगै थप जिम्मेवारी र मर्यादा पालनाका लागि प्रेरित गर्नुभएको थियो।

प्रहरी नायव निरीक्षक शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ८:५६ बजे सगरमाथाको चुचुरोमा नेपाल राष्ट्रको झण्डा, नेपाल प्रहरीको झण्डा तथा “महिला र बालिकाहरू विरुद्ध हुने हिंसा अन्त्य गरौं” भन्ने नारासहितको ब्यानर फहराएर ऐतिहासिक सफलता हासिल गरेका थिए।

उहाँको यो उपलब्धिले नेपाल प्रहरी मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव बढाएको प्रहरी संगठनले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *