रसीद आलम
वीरगंज, वैशाख २८।खानेपानी मन्त्री प्रदीप यादवले आज वीरगंज महानगरपालिका वडा नं. १६, नगवामा एक भव्य समारोहका बीच ओभरहेड खानेपानी टंकीको शिलान्यास गर्नुभयो।
मन्त्री यादवले यस आयोजनाबाट स्थानीय बासिन्दाहरूलाई शुद्ध, सुरक्षित र व्यवस्थित रूपमा खानेपानी उपलब्ध हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “खानेपानीजस्तो आधारभूत सेवाको पहुँच प्रत्येक नागरिकसम्म पुर्याउनु हाम्रो साझा दायित्व हो। तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न हुनेछ भन्ने पूर्ण विश्वास दिलाउन चाहन्छु।”
कार्यक्रमको अध्यक्षता वडा नं. १६ की वडा सदस्य लवंगी देवीले गर्नुभएको थियो। कार्यक्रममा वीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंह, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबू ढकाल, जसपा जिल्ला अध्यक्ष तथा बहुदरमाई नगर प्रमुख सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्यहरू जन्नत अंसारी, पुरषोत्तम लाल झा, मधुमाया यादव, संघीय परिषद सदस्यहरू मुकेश द्विवेदी, असलम आलम, तबरेज अहमद, रानी राय, पल्टन पटेल, मधेश प्रदेश उपाध्यक्ष प्रेमबाबु पटेल, वडा नं. १५ का अध्यक्ष रमेश यादव, वडा नं. १६ का सदस्य प्रमोद यादव तथा इकाई अध्यक्ष अरुण यादवलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उपस्थित सबै वक्ताहरूले आयोजनालाई सफल बनाउन जनसहभागिता र सहकार्यको आवश्यकता औंल्याउँदै, स्थानीय विकासमा यस परियोजनाले ठूलो योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे।
