काठमाडौं,१३ साउन । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुनसरीमा भएको हिंसात्मक घटनापछि देशवासीलाई संयम अपनाउन आग्रह गर्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै प्रधानमन्त्री शाहले सुनसरीको घटनाबाट आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि अत्यन्त दुःखी भएको बताएका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री शाहले मृतकका परिवार तथा पीडितलाई न्यायको अनुभूति गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक क्षतिपूर्ति र न्याय यथाशीघ्र उपलब्ध गराइने बताएका छन्। उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले तत्काल आवश्यक निर्णयहरू गरिरहेको पनि जानकारी दिएका छन्।
सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै उनले घटनाको अनुसन्धान सुरु भइसकेको र जिम्मेवारमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री शाहले आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न सबैसँग आग्रह गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी सम्मान कायम राख्न अपिल गरेका छन्। “मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो, सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा र पीडितलाई न्याय दिलाउनु हो,” उनले सन्देशमा उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले नागरिकलाई कुनै पनि उक्साहट वा हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गर्दै सुरक्षित, संयमित र जिम्मेवार भएर सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेका छन्।
