काठमाडौं, साउन १२।नेपाल सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
सरकारले घटनामा घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिएको जनाएको छ। साथै, घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको र समितिले कामसमेत सुरु गरिसकेको जानकारी दिएको छ।
विज्ञप्तिमा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
नेपाल सरकारले कुनै पनि असन्तुष्टि, समस्या वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई खलबल्याउने गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेको छ।
साथै, उत्तेजनात्मक अभिव्यक्ति वा भ्रामक सूचना नफैलाउन, त्यस्ता सूचनाबाट प्रभावित नहुन र उच्च संयमता अपनाउन सरकारको विशेष अपिल रहेको छ।
प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा मुलुकमा शान्ति–सुरक्षा, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक आह्वान गरिएको छ।
