विद्युतीय अपराध र राज्यविरुद्धको कसूरमा दुर्गा प्रसाईं पक्राउ

समाचार

वीरगञ्ज, ५ जेठ — विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, सामाजिक सद्भाव र राज्यप्रति द्वेष फैलाउने प्रकृतिका अभिव्यक्ति दिएको आरोपमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झापा विर्तामोड नगरपालिका–५ घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका–६ बस्दै आएका ५६ वर्षीय दुर्गा प्रसाद प्रसाईंलाई वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको हो।

प्रहरीले सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध अभिव्यक्ति दिएको, विभिन्न जातजाति तथा सम्प्रदायबीचको सामाजिक सद्भावमा असर पुग्ने गतिविधि गरेको तथा नेपाल सरकार र सरकारका कामकारबाहीप्रति घृणा, द्वेष र अवहेलना फैलाउने उद्देश्यले निराधार तथा अप्रमाणित सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोप लगाएको छ।

मिति २०८३ जेठ ४ गते राति करिब ८ बजे जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा राज्यविरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
यस विषयमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *