पाँच थान चोरीका साइकलसहित वीरगञ्जका एक युवक पक्राउ

समाचार

वीरगञ्ज, जेठ १७ । पर्सा प्रहरीले चोरी भएका पाँच थान साइकलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवा निवासी २६ वर्षीय लाल महम्द अन्सारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जेठ १३ गते अपराह्न करिब ४ बजे बारा प्रसौनी गाउँपालिका–५ प्रस्टोका निवासी २२ वर्षीय विशाल साह ले वीरगञ्ज महानगरपालिका–१५ स्थित एनएमसी परिसरमा पार्किङ गरी राखेको आफ्नो साइकल चोरी भएको भन्दै वडा प्रहरी कार्यालय श्रीपुरमा खोजतलासका लागि निवेदन दिएका थिए।

उक्त घटनापछि प्रहरीले चोरी भएको समयको सीसीटीभी फुटेजको प्राविधिक विश्लेषण गर्दै अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा जेठ १६ गते राति करिब १०ः३० बजे चोरीमा संलग्न रहेको आशंकामा लाल महम्द अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अन्सारीको साथबाट निवेदकको चोरी भएको साइकलसहित अन्य चार थान चोरीका साइकल बरामद गरेको छ। यससँगै कुल पाँच थान चोरीका साइकल फेला परेको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्सारीविरुद्ध चोरी सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिएका छन्।
प्रहरीले पछिल्लो समय सवारी साधन चोरीका घटनालाई नियन्त्रण गर्न सीसीटीभी निगरानी र प्राविधिक अनुसन्धानलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *